राष्ट्रपतिका समर्थकले मन्त्रीलाई नै बन्धक बनाउन खोजेपछि श्रीलंकामा गोली चल्यो

Sambhabi प्रवास , समाचार , October 28th, 2018

एजेन्सी । श्रीलंकामा राष्ट्रपतिले मन्त्रीलाई नै बन्धक बनाउन खोजेपछि गोली चलेको छ । श्रीलंकामा चलेको राजनीतिक संकट गहिरिँदै गएको छ । राष्ट्रपतिले संसद विघटन गरेका छन् भने सभामुखले राष्ट्रपतिले तोकेका ब्यक्तिलाई प्रधानमन्त्री मान्न नसकिने बताएका छन् । राजनीतिक संकटका बिच राजधानीमा कोलम्बोमा आइतबार दिउँसो प्रहरीले गोली चलाएको छ।

समाचार एजेन्सीहरुले जनाए अनुसार रानिल विक्रमासिंगे मन्त्रिपरिषदका पेट्रोलिमय मन्त्री अर्जुना रणतुङ्गाका अंगरक्षकले गोली चलाएका हुन् । राष्ट्रपति मैत्रिपाला सिरिसेनाका समर्थकहरुले मन्त्री रणतुङ्गालाई बन्धक बनाउन खोजेपछि भिडन्तको अवस्था आएको हो । सो क्रममा उनका अंगरक्षकले गोली प्रहार गरिएको बताएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले चलाएको गोली लागेर कम्तीमा दुई जना घाइते भएका छन् ।

राष्ट्रपति सिरिसेनाले विक्रमासिंगेलाई प्रधानमन्त्रीबाट बर्खास्त गरेर पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । सो घटना पछि राजनीतिक रुपमा विग्रह सुरु भएको हो । सो विग्रह पछि भएको हिँसाको यो पहिलो घटना हो ।

यसअघि संसदका सभामुख कुरु जयसूर्याले राष्ट्रपतिले अपदस्थ गरेको विक्रमासिंगेलाई वैधानिक प्रधानमन्त्री भएको बताएका थिए। उनले संसदबाट बहुमत प्राप्त गरेको व्यक्तिलाई मात्रै प्रधानमन्त्रीको रुपमा स्वीकार्ने बताएका छन्। त्यसअघि राष्ट्रपति सिरिसेनाले नोभेम्बर १६ सम्मका लागि संसदलाई निलम्बन गरेका थिए।

2Shares