कांग्रेसको आज देशब्यापी चियापान, काठमाडौंमा एक लाखलाई चिया खाने निम्ता

Sambhabi राजनीति , समाचार , November 2nd, 2018

काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । दिउसो १ वजे देखि चियापानको कार्यक्रम निर्धारण गरिएको छ ।

कांग्रेसले हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा चियापानको कार्यक्रम आयोजना गर्दै आएको भए पनि यो वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण पछि सरेको हो । विगत पाँच वर्षदेखि अस्वस्थ रहेका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो ।

चियापानमा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको छ । यस अघि नेकपाले आयोजना गरेको चियापानमा ५० हजारलाई निम्ता दिइएको थियो । कांग्रेसले आज नै देशब्यापी मुलुकका सबै जिल्लामा पनि चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका पदाधिकारीलगायत विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए । काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरेको थिएन ।

5Shares