नगरपालिकाको नारा सफल बनाउन सहकारीले बाड्यो कपडाको झोला

Sambhabi विजनेस , November 4th, 2018

बुटवल, १८ कात्तिक । समावेशी बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा ७ ले तिलोत्तमा नगरपालिकाले अघि सारेको ‘ग्रीन तिलोत्तमा  क्लिन तिलोत्तमा’ को नारालाई साथ दिँदै आफ्ना सेयर सदस्यहरुलाई कपडाको झोला वितरण गरेको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको प्लाष्टिक झोला निषेधित अभियानलाई साथ दिँदै सहकारीले आफ्ना सबै सेयर सदस्यहरुलाई झोला वितरण गरेको हो । सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद सुवेदीले नगरपालिकाले सुरु गरेको प्लाष्टिक झोला निषेधित अभियान अत्यन्त सकारात्मक रहेकाले आफ्ना सेयर सदस्यहरुको मागबमोजिम कपडाको झोला वितरण गरिएको बताए ।

सहकारीले निकै आर्षक र बलियो झोला ११ औं साधारणसभाको अवसरमा
शनिबार सदस्य र अतिथिहरुलाई उपलब्ध गराएको हो । अध्यक्ष सुवेदीका अनुसार एक झोलाको मूल्य एक सय पचास रुपैंयाँ छ । पहिलो चरणमा पाँच सय झोला
वितरण गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । दश किलोसम्म अट्ने झोला बजारमा किनमेलका लागि अत्यन्त उपयोगीका साथै मोटरसाइकलको लेगार्डमा समेत लिएर हिँड्न मिल्ने सहकारीका सदस्यसमेत रहेका तिलोत्तमा
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । सहकारीले आफ्नो साधारणसभा तिलोत्तमा नगरपालिकाले जारी गरेको सार्वजनिक महत्वको कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ अनुसार सम्पन्न गरेको छ ।

निर्देशिका अनुसार कार्यक्रम तोकिएकैं समयमा सुरु भएको थियो भने अतिथिहरुका
लागि खादाको सट्टा फूलको गुच्छाबाट स्वागत गरिएको थियो । यस्तै वक्ताहरु
पनि सीमित राखिएको थियो । कार्यक्रमलाई छिटो छरितो रुपमा सम्पन्न गरी
उपलब्धिमुलक बनाउने सन्दर्भमा नगरपालिकाको निर्देशिका पालना गर्नुपर्नेमा
सहभागीहरुले जोड दिएका थिए ।

1Shares