विराटनगरमा महानगरपालिकाका प्रवक्ता सहित जनप्रतिनिधि नै भारतीयलाई नागरिकता दिने धन्दामा, ७ जना भारतीयका नक्कली बाबु बनेर दिलाए नागरिकता

Sambhabi ब्रेकिङ न्युज , समाचार , November 4th, 2018

विराटनगर, १८ कात्तिक । मोटो रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने काममा जनप्रतिनिधि नै लागेको रहस्य खुलेको छ । भारतीय नागरिकलाई सिफारिस दिने जनप्रतिनिधि सहित १६ जना विरुद्ध अदालतमा मुद्या दर्ता भएपछि यस्तो रहस्य खुलेको हो । भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेमा विराटनगर महानगरपालिका प्रवक्ता उद्धव अर्यालय सहित १६ जना छन् । त्यसमा वडासदस्य समेतको मिलेमतो छ । अर्याल वडा नम्बर १ का अध्यक्ष समेत हुन् ।

एक जना ब्यक्ति भारतीयलाई नेपाली नागरिकता दिन ७ जना भारतीयको नक्कली बाबु बनेको समेत खुलेको छ । महानगरपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष सहित १६ विरुद्ध आइतबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भए पछि यस्तो रहस्य खुलेको हो ।

पछिल्लो समय दुई भारतीयलाई पनिनेपाली नागरिकताका लागि सिफारिस गरेपछि यस्तो रहस्य खुलेको हो । वडाध्यक्ष अर्यालसहित वडा सदस्य रमेश साह र सुन्दरहरैंचा नगरपालिकामा बसोबास गर्ने वडा सचिव पुष्पा तिम्सिना समेत भारतीयलाई नेपाली नागरिक बनाएर मोटो रकम असुल्ने काममा लागेको पाइएको हो । उनीहरुविरुद्ध मुद्दा दायर भएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिएका छन्।

बाबु बनेर भारतीयलाई नागरिकता दिलाउने मुख्य भूमिका भने विराटनगर १ घर भइ मोरङको कटहरी गाउँपालिका १ मा बस्दै आएका ५५ वर्षीय सत्यनारायण पोद्धार हुन् । उनले आफु बाबु बनेर ७ जनालाई नेपाली नागरिकता दिलाईसकेका छन् ।

पोद्धारले अहिलेसम्म झुटा विवरण पेश गर्दै आफू बाबु बनेर सातजना भारतीयलाई नागरिकता दिलाएको अनुसन्धानका क्रममा खुलेको बताइएको छ। उनले छोरा बनाएका भारतीयहरुमा २२ वर्षीय संजीव पोद्धार, २० वर्षीय धिरज पोद्धार, जितेन्द्र पोद्धार, २५ वर्षीय राजेन्द्र पोद्धार, रोशनकुमार पोद्धार, १८ वर्षीय मिथिलेश पोद्धार र १९ वर्षीय पवन पोद्धार छन् । त्यस बाहेक भारतीयलाई नेपाली नागरिक बनाउन साक्षि बस्नेहरु बिरुद्ध पनि अदालतमा मुद्या परेको छ ।

मुद्दा दर्ता गरिएका १६ जनामध्ये मुख्य अभियुक्त सत्यनारायण मात्रै पक्राउ परेका छन्। वडा अध्यक्ष अर्यालयसहित अन्य १५ जना फरार छन्। सत्यनारायण पक्राउ परेको थाहा पाएसँगै अर्यालसहित अरु फरार भएको प्रहरीले जनाएको छ । सत्यनारायणले आफ्नो कान्छी श्रीमतीका छोराहरु हुन् भन्दै भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन नक्कली बाबु बनेका थिए ।

3Shares